केलाङ

  • भोगेन्द्र लिङ्देन

उहिले उहिले
आदिम कालमा
मानव बस्तीको
पहिलो घरमा
प्रेतात्माले दुःख दिएपछि
धमिरा र काठे किराहरू लागेपछि
फेदाङ्‍माहरूले
रातभरि
च्याब्रुङ बजाएर
मुन्धुम गाउँदै
खाँबोका धमिरा र काठे किराहरू मारे
घरबाट प्रेतात्मालाई भगाए
त्यस रात
सात डाँडापारिसम्म
च्याब्रुङको आवाज घन्किरह्यो
च्याब्रुङ च्याङ् …….. च्याब्रुङ च्याङ् ……..

अहिले
घरमा फेरि प्रेतात्मा जाग्न थालेर हो कि
घरका खाँबोहरू मक्किन लागेका छन्
धमिरा र काठे किराहरूले
संसाँझै घरका दलिनहरू खान थालेका छन्
त्यसैले
घर भत्किनु अघि नै
फेदाङ्‍माहरू बोलाएर
रातभरि
च्याब्रुङ बजाएर
मुन्धुम गाउँदै
खाँबोका धमिरा र काठे किराहरू मार्नुछ
घरबाट प्रेतात्मालाई भगाउनुछ
अनि
त्यस रात पनि
सात डाँडापारिसम्म
सात गाँउसम्म
च्याब्रुङको आवाज घन्किरहनेछ
आदिम कालमा झै
च्याब्रुङ च्याङ् …….. च्याब्रुङ च्याङ् …….. ।


शब्दार्थः
केलाङः लिम्बू समुदायमा चाडपर्व, विवाह, भोजभतेर, घरपूजा लगायतका अवसरमा च्याब्रुङ बजाएर नाचिने नाच ।
फेदाङ्‍माः मुन्धुमका ज्ञाता तथा लिम्बू जातिको मुख्य पुजारी
च्याब्रुङ च्याङ्: च्याब्रुङको एक धुन
(प्रस्तुत कविता लिम्बू जातिको एक मिथकमा आधारित छ । यस मिथक अनुसार बाजाइबा नामक आदिमानवले घर बनाउने क्रममा घरको खम्बाले किचेर उनकी चेली खाप्पुनामा मेल्लङ्हाङ्‍माको मृत्यु भएपछि उनको प्रेतात्माले दुःख दिन थाल्यो । फलस्वरूप धमिरा र किराहरू लागेर उक्त घर भत्कियो । त्यसको निदानको लागि बाजाईबाले आफ्ना परमपिता सोधुङ्गेन लेप्मुहाङको निर्देशन अनुरूप फेदाङ्‍माहरूद्वारा केलाङ (च्याब्रुङ नाच) को अनुष्‍ठान गरी घरका खाँबोका धमिरा र काठे किराहरू मारे । त्यसपछि उक्त घरमा धमिरा र काठे किराहरूले दुःख दिएनन् ।)

Email: lingden_b@yahoo.com, Phone No. – 9848938848

Leave a Reply

Your email address will not be published. Required fields are marked *